तमू समुदायमा आँस्यो (मावली) को महत्व

तमू समुदायमा मानिस जन्मेपछि क्होंईबो (प्रकृतिको काख)मा लिन भएपछि मात्र जीवनको एक त्रक्र पूरा हुन्छ । व्यक्ति जम्मेदेखि क्होंईबो (प्रकृतिको काख)मा लिन हुँदासम्म सो व्यक्तिको सम्बन्ध आफ्नो खेमा (कुलपितृ) सँगै आँस्यो (मावली)को खेमा (कुलपितृ)सँग पनि हुने गर्दछ । पय संस्कारमा खेमा त्होसीं (कुलपितृ भेटाउने) गर्दा मृतकको पय गरिसकेका कुलपितृ र आँस्योको कुलपितृ सँगै च्याहल्सी (लिन) गराउने कार्य हुन्छ ।

 

तमू समुदायमा मानिसको मृत्यु भैसकेपछि, पय (अर्घु) गर्दा आँस्यो (मावली) को श–शरीर उपस्थिति अनिवार्य रहेको छ । सिके (मृत) संस्कार र पय (अर्घुु) गर्दा मृतकलाई उसको आँस्यो (मावली) ले प्युँरीको रुपमा आँस्यो क्वों, सोना पा (कोदोको नछानेको जाँड) नदिए सम्म यो संस्कार अधुरो हुने र क्होंईबो (प्रकृतिको काख) मा लिन (समावेश) हुँदैन भन्ने जनविश्वास रहेको छ । यस विषयमा तमू खेगी चिवा क्ल्हेप्रीको “स्योंदार ङिवा” प्ये डाँडीमा यस विषयको प्रसङ्ग रहेको छ । सो प्रसङ्ग क्विँ (भान्जा) चिमीविँडु, आँस्यो (मामा) ल्ह्ये मूउँ र आङी (माइजु) ट्वोलिस्यो को मिथकमा आधारित छ । उक्त मिथक अनुसार चिमीविँडुले आँस्यो ल्ह्ये मूउँ र आङी ट्वोलिस्योको सम्पति फकाई फुलाई जालझेल गरी हडपेर गरीब बनाइदिएको हँुँदो आँस्यो ल्ह्ये मूउँ र आङी ट्वोलिस्योले क्विँ –भान्जा) लाई केप्ला (सराप) दिन्छ र सो केप्ला (सराप) को कारणले चिमीविँडु को मृत्यु हुन्छ । चिमीविँडुको मृत्यु पश्चात क्होला राज्यमा छोंज (सभा) बसी पय (अर्घु) गर्ने निर्णय हुन्छ र बिना आँस्योको उपस्थिति त्यो पय सम्पन्न हुन्छ तर चिमीविँडुको आत्म प्रकृतिसँग लिन हुन सक्दैन । उसको आत्म त्यही नै भौैतारिएको हुन्छ । यो कुरा क्होलाको राजा र बासिन्दाहरुले आफ्नो सपनामा जाडोले काँपेको अवस्थामा मलीन स्वरमा बोलेको थाहा पाउँछन् । त्यसपछि क्होंलामा फेरि छोंज (सभा) बसी चिमीविँडुले आँस्यो ल्ह्ये मूउँ र आङी ट्वोलिस्योको सम्पति हरण गरेको घटनाको छानबिन गरी सत्य तथ्य पत्ता लगाएर छोंजबाट चिमीविँडुको सम्पतिबाट आँस्यो र आङीलाई नाङ्ला भरि सुन चाँदी द्रव्य दान गरेर चित्त बुझाउने कार्य गरी पुनः पय गर्ने कुुरा हुन्छ । त्यसपछि आँस्यो र आङीलाई नाङ्ला भरि सुन चाँदी द्रव्य दान गरी चिमीविँडुको पयमा आउन निम्तो दिँदा आँस्यो र आङी नजाने कुरा गर्दछन् । आफु नजाने भएपछि आँस्यो र आङीले अर्कै व्यक्तिलाई आफ्नो पानी घट्टाको टालो, घट्टाको मुखमा रहेको अन्नबाट बनेको स्वोना पा (रक्सी) पठाई पय (अर्घु) सम्पन्न भएको श्रुति छ (तमु, २०४७ं) । त्यसैले गर्दा तमू समुदायमा आँस्यो प्युँरी दिएन वा पाएन भने मृतकको आत्म प्रकृतिको काख क्होंईबो (प्रकृतिको काख) मा लिन (समाहित) हुँदैन र दाजुभाई, नातेदारमा दुःख दिन्छ भन्ने विश्वास छ, र दिदैं आइरहेको घटनाहरु पनि सुनेका छौ । यही आँस्यो प्युँरीको सम्बन्धले गर्दा तमू समुदायमा दशैं, ल्होसारमा रोटी, रक्सी बोकेर आँस्यो मान्न जाने चलन छ भने आँस्योको घरमा हुने शुभ अशुभ कार्यहरुमा भान्जा ज्वाईहरुको उपस्थिति अनिवार्य सहित त्यहाँ काम गर्नुपर्ने हुन्छ । मिथकमा आँस्यो र आङीलाई नाङ्ला भरि सुन चाँदी द्रव्य दान गरी चित्त बुझाएको हँुदा सिके (मृत संस्कार) र पय (अर्घु) संस्कार सम्पन्न भएपछि कर्ता परिवारबाट आँस्योहरुलाई पनि केही दिई धन्यवाद ज्ञापन गर्ने चलन रहिआएको छ ।

तमू समुदायमा मानिस जन्मेपछि क्होंईबो (प्रकृतिको काख)मा लिन भएपछि मात्र जीवनको एक त्रक्र पूरा हुन्छ । व्यक्ति जम्मेदेखि क्होंईबो (प्रकृतिको काख)मा लिन हुँदासम्म सो व्यक्तिको सम्बन्ध आफ्नो खेमा (कुलपितृ) सँगै आँस्यो (मावली)को खेमा (कुपितृ)सँग पनि हुने गर्दछ । पय संस्कारमा खेमा त्होसीं (कुलपितृ भेटाउने) गर्दा मृतकको पय गरिसकेका कुलपितृ र आँस्योको कुलपितृ सँगै च्याहल्सी (लिन) गराउने कार्य हुन्छ । त्यसैले गर्दा पनि तमू समुदायमा आँस्यो (मावली)को अति नै महत्व रहीआएको छ ।

 

Scroll to Top