तमू संस्कृति संरक्षणमा अबको भूमिका

भाषा भनेको व्यक्ति, समुदाय बीच बोलीचाली, एक आपसमा सञ्चार गर्ने माध्यम मात्र होइन । उसको त्यो भाषामा सम्बन्धित समुदायको सभ्यता, ज्ञान, दर्शन, मूल्य, मान्यता, संस्कार संस्कृति पनि भाषाले बोकेको हुन्छ । त्यसैले कुने पनि समुदायको भाषा समात्त हुनु भनेको त्यो समुदायको सभ्यतासँगै मानव नै लोप हुनु हो ।

बिष्णु च्हार्ल तमू, सुनवल–४, नवलपरासी (वसुप)
कुनै पनि समुदायको आफ्नै सभ्यता रहेको हुन्छ । ती सभ्यता पनि विभिन्न आरोहअवरोह पार गरी विकास भएका हुन्छन् । यसरी नै तमू समुदायको संस्कृति, भाषा, संस्कार, परम्पराहरु सभ्यताको उपजहरु हुन । हालसम्म तमू प्ये तां ल्हुं तां को आधारमा तमू समुदायहरुले आफ्नो संस्कार, संस्कृति मान्दै आएका छन् । नेपालमा लेख्य परम्पराको सुरुवात भएको धेरै वर्ष भए तापनि हालसम्म तमू प्ये तां ल्हुं तां भने मौखिक रुपमा हाम्रा खेगीहरु (पच्यु, क्ल्हेप्री र लम) प्ये मा सीमित रहेको छ, जुन कुरा तमू समुदायले आफ्नै संस्कृति अनुसार संस्कार गर्दा खेगीहरुको प्रयोगले गर्दा अहिलेसम्म तमू प्ये तां ल्हुं तां जीवित रहेको छ । तर, तमू संस्कार, संस्कृति संरक्षणको अबको यात्रा भने त्यति सहज छैन । किनकि विश्वव्यापीकरण (Globalization) को प्रभाव, अरुको धर्म संस्कारहरुको व्यापक प्रभाव, आधुनिक प्रविधिको प्रभाव, तमू समुदायका धेरैजसो मानिसमा आफ्नो संस्कार, संस्कृतिप्रति रुचि नहुनु जस्ता कारणले गर्दा संरक्षणमा चुनौती थपिएका छन् । तमू भाषाको कुरा गर्दा जसको घरमा बाजुआपा, बजुआमा, आपाआमा तमू क्युई बोले पनि त्यसको नयाँ पुस्तामा भने तमू क्युई बोल्ने गरेको पाइन्न । जसको पुष्टि नेपालको जनगणना २०७८ मा देखिएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार गुरुङ जातिको संख्या ५४३७९० (पाँच लाख त्रिचालीस हजार सात सय नब्बे) जना रहेको छ जसमध्ये तमू मातृभाषा (तमू क्युई) बोल्ने ३२८०७४ (तीन लाख अठ्ठाइस लाख चौहत्तर) जना रहेको छ । यस तथ्याङ्कले इंकित गर्दछ भने २१५७१६ (दुई लाख पन्ध्र हजार सात सय सोह्र) वा ३९.६६ प्रतिशत तमू जनसंख्याले अझ पनि तमू मातृभाषा बोल्दैनन् । यसैगरी राष्ट्रिय जनगणना २०७८मा पहिलो पटक पूर्खाको भाषा पनि तथ्याङ्क संकलन गरिएको थियो । राष्ट्रिय जनगणना २०७८मा प्रयोग भएको पूर्खाको भाषा भन्नाले “जिजु बा÷आमा, बाजे÷बोजु” ले बोल्ने भनेर परिभाषित गरेको छ । जस अन्तर्गत पूर्खाको भाषा बोल्ने जनसंख्या ४६७६९७ (चार लाख सरसठ्ठी हजार छ सय सन्तानब्बे) रहेका छन् । यसमा पनि मातृभाषाको जनसंख्या घटाउने हो भने १३९६२३ (एक लाख उन्चालीस हजार छ सय तेइस) जना नयाँ पुस्ताले आफ्नो बाजेबजै र बाबाआमा बोल्ने भाषा बोल्दैनन्, जसको अर्थ तमू क्युई बोल्ने जनसंख्या घट्दो क्रममा रहेको छ । यसरी तमू भाषा हरेक दिन जसो घट्दै जाने हो भने मौखिक परम्परामा रहेको तमू प्ये तां ल्हुं ताँ मा खस नेपाली भाषा (प्ह्रु क्युई)को प्रवेश हुँदै तमू प्ये ताँ ल्हु तां संकटमा पर्ने निश्चित छ । जसको कारणले गर्दा तमू समुदायमा रहेको “प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु (शास्त्र हराए परम्परा हराउँछ, परम्परा हराए संस्कृति हराउँछ, संस्कृति हराए अस्तित्व (मान्छे) हराउँछ” भन्ने भनाई सत्य हुन बिलम्ब हुनेछैन ।

भाषा भनेको व्यक्ति, समुदाय बीच बोलीचाली, एक आपसमा सञ्चार गर्ने माध्यम मात्र होइन । उसको त्यो भाषामा सम्बन्धित समुदायको सभ्यता, ज्ञान, दर्शन, मूल्य, मान्यता, संस्कार संस्कृति पनि भाषाले बोकेको हुन्छ । त्यसैले कुने पनि समुदायको भाषा समात्त हुनु भनेको त्यो समुदायको सभ्यतासँगै मानव नै लोप हुनु हो । त्यसैले गर्दा तमू समुदायको अस्तित्व कायम राख्नु छ भने तमू क्यूई (तमू भाषा) बचाउन जरुरी रहेको छ । तमू क्युई (तमू भाषा)को माध्यममा रहेको हाम्रो खेगीहरुको प्ये (शास्त्र)मा नै तमू समुदायको उत्पति कथा, सभ्यता, इतिहास, संस्कृति, संस्कारहरु रहेको छ । तमू खेगीहरुसँग रहेको मौखिक प्ये नै हाम्रो इतिहास हो । मौखिक इतिहास (Oral History) भनेको एक पुस्ताले अर्को पुस्तालाई मौखिक रुपमा भन्दै आएको हुन्छ । सन्तान दर सन्तानमा त्यही कुरा पुस्तान्तरण हुँदौ आएको हुन्छ । यसरी पुस्तान्तरण हुँदै आएको मौखिक इतिहासमा समय, सन्दर्भ र कतिपय विर्सने अवस्थाले गर्दा सुरुवाती चरणमा भएका भन्दा अहिलेको अवस्थामा आउँदा फरकपना आएको हुनसक्छ । यही मौखिक रुपमा हाम्रो तमू समुदायको इतिहास प्ये (शास्त्र) भएको हुँदा, भौगोलिक कारणले गर्दा अहिले पनि तमू समुदायमा मूलभूत मूल्य, मान्यता, बुझाई, संस्कृति भएता पनि संस्कारगत रुपमा विविधता रहेको देखिन्छ । यसरी तमू प्ये तां ल्हुं तां मौखिक रुपमा भएको र विभिन्न प्रभावहरुको कारणले गर्दा तमू संस्कृति जोखिम अवस्थामा रहेको कारणले गर्दा पनि सम्पूर्ण तमू समुदायहरु हातेमालो गरी संस्थागत रुपमा संरक्षण गर्नु पर्ने देखिन्छ ।

 

कोही कोही हाम्रा खेगी (पच्यु, क्ल्हेप्री, लम, पैंडी)ले आफ्नो मौखिक प्ये (शास्त्र)हरुलाई लेखी पढ्ने गरेका छन्, त्यो पनि आफ्नै ठाउँ अनुसार नै बेग्लै रहेको छ । त्यस अलवा तमू प्ये ल्हु संघले तमू संस्कार संस्कृति सम्बन्धी प्रशिक्षाण गर्ने गरेका छन् भने तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदले पनि देशका विभिन्न ठाउँहरुमा आवश्यकताको आधारमा तमू भाषा सम्बन्धी प्रशिक्षाण गर्दै आएको छ भने विद्यालय तहमा भने रुपन्देही जिल्लाको देवदह नगरपालिका वार्ड नं.५, मितेरी गाउँमा अवस्थित देवदह मदर टङ्गस एकेडेमीमा आफ्नो स्थापनाकालदेखि नै तमू खेमा लिपि सहित तमू भाषा अध्यापन गर्दै आएको छ । कसै कसैले तमू भाषाका शब्दकोष, पुस्तकहरु पनि लेखिएका छन् । कोही खेगीहरुले भने प्ये (शास्त्र)मा आधारित भएर लेख, पुस्तकहरु पनि प्रकाशन गरेका छन् । जुन सराहनीय कार्य हो । त्यसैगरी तमू धिं नेपाल लगायत जिल्ला, भूगोल र तमू थर अनुरुपका समाजहरुले पनि तमू भाषा, संस्कृति, संस्कारहरु संरक्षण र सम्बद्र्धनमा योगदान गर्दै आएका छन् ।

 

तमू समुदायलाई नेपाल सरकारले आधिकारीक रुपमा गुरुङ भनेर चिन्दछ । गुरुङहरुले आफ्नो भाषा तमू क्युईमा “तमू” भन्दछन् । तमू समुदायको उत्थान र तमू भाषा, संस्कार, संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले विभिन्न संस्थाहरु खुलेका थिए, छन् । वि.स.२०१३ सालमा गुरुङ कल्याणकारी संघको स्थापना भएसँगै तमू समुदायको उत्थानको लागि कार्य गरेको देखिन्छ । वि.सं २०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापना भएसँगै देशमा आफ्नो हक, अधिकारको लागि सामाजिक संघ संस्था खोल्न पाउने व्यवस्थाको कारणले गर्दा तमू धिं नेपाल, तमू प्ये ल्हुं संघ, तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद (तत्कालीलन तमू छोंज धीं र तत्कालीन गुरुङ राष्ट्रिय परिषद), तमू बौद्ध सेवा समिति, तमू अर्घौ सदन जस्ता समाजिक संस्थाहरुको स्थापना भएको थियो । स्थापनासँगै तमू समुदायहरुले आफ्नो संस्कृति संरक्षण गर्ने र राज्यमा आफ्नो हक, अधिकारको लागि आदिवासी जनजाति महासंघ लगायत अन्य आदिवासी जनजाति संघ संगठनहरुसँग सहकार्य गर्दै आन्दोलनमा आफ्ना मागहरु राख्दै आएको छ । जस्तै तमू ल्होसारमा सार्वजनिक विदा, बहुभाषिक विश्वविद्यालयको माग, मातृभाषामा शिक्षाको व्यवस्था, राज्यका हरेक निकायमा समानुपातिक समावेशी प्रतिनिधित्व र आरक्षणको व्यवस्था, तमूवान पहिचान सहितको संघीयता र प्रदेश नामकरण ईत्यादि हुन् । यी मागहरु सबै तमू समुदायको उत्थान, संस्कार, संस्कृतिको संरक्षण र सम्बद्र्धनमा आधारित थिए । यी मध्ये कतिपय उपलब्धि भए कति बाँकी छन् ।

 

दश वर्षे माओवादी सशस्त्र युद्ध, २०६२÷०६३ सालको जनआन्दोलन, आदिवासी जनजाति आन्दोलन, मधेश आन्दोलन लगायत विभिन्न आन्दोलनको जगमा नेपाल संबैधानिक राजतन्त्रको आवसन भई लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । हाल दोस्रो संविधान सभाबाट जारी “नेपालको संविधान २०७२” कार्यन्वयनको चरणमा छ । यद्यपि नयाँ संविधानमा तमू समुदायका केही असन्तुष्टहरु छन् । यी असन्तुष्टका बावजुत पनि यही संविधानकोे भाग ३ को मौलिक हक अन्तर्गत धारा ३१ (५) नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानुन बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने, भाग ४ धारा ५१ (ग) खण्ड (६) मा भएको देशको सांस्कृतिक विवधता कायम राख्दै समानता एवं सहअस्तितवका आधारमा विभिन्न जातजाति र समुदायको भाषा, लिपि, संस्कृति, साहित्य, कला, चलचित्र र सम्पदाको संरक्षरण र विकास गर्ने र खण्ड (७) रहेको बहुभाषिक नीति अबलम्बन गर्ने राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको व्यवस्था र संविधानको अनुसूची ६ को प्रदेशको अधिकार सूचीमा भाषा, लिपि, संस्कृति, ललितकला र धर्मको संरक्षण र प्रयोग र संविधानको अनुसूची ८ स्थानीय अधिकारको सूचीमा भाषा, संस्कृति र ललितकलको संरक्षण र विकास गर्ने भन्ने व्यवस्था भएको हँुदा तमू समुदायले यो व्यवस्था अनुरुप आफ्नो भाषा, संस्कार, संस्कृतिको संरक्षण, सम्बद्र्धन गर्न सक्नेछ ।

 

ऐतिहासिक बसोबासको हिसाबले धादिङ्ग जिल्लाको आँखुखोला बुढीगण्डकी देखि पश्चिम र कालीगण्डकीदेखि पूर्वको बीच भागमा नै तमू समुदायको बाक्लो बसोबास रहेको पाइन्छ, जसलाई तमूवान वा तमू ह्युल भनिन्छ । यही तमू ह्युल नै तमू समुदायको थातथलो हो । किनभने यस थातथलोसँग तमू समुदायको संस्कृति र सभ्यता गाँसिएको छ । तमू समुदायले भन्दै आएको तमूवान साविकको मनाङ, मुंंस्ताङ, लमजुङ, कास्की, गोरखा, तनहँु, स्याङ्जा र पर्वत हुन । हाल संविधान सभाबाट संविधान जारी भइसकेपछि भने साविकको आठ जिल्लामा नवलपरासी (बर्दघाट सुस्ता पूर्व), म्याग्दी र बाग्लुङ थप सिमाना कायम गरी ४ नं. प्रदेश कायम गरियो । प्रदेश सभाबाट ४ नं प्रदेशको नाम गण्डकी प्रदेश राखियो । गण्डकी प्रदेश कायम भएपछि यस प्रदेशमा सरकारी कामकाजको भाषा नेपाली बाहेक गुरुङ र मगर हुने कुरा पारित भएको छ र यो लेख तयार हँुदै गर्दा सम्म भने प्रदेशको सरकारी कामकाजको भाषा गुरुङ र मगर सम्बन्धी ऐन बन्ने क्रममा सुझाव संकलन भइरहेको छ । यसरी अब सरकारी कामकाजको भाषा गुरुङ र मगर हुने भए पछि तमू समुदायले अवश्य गर्नै पर्ने कार्यहरु रहेका छन् ।

 

१. तमू प्ये तां ल्हु तां को अनुसन्धान र प्रकाशन
यो सर्वप्रथम गर्नुपर्ने कार्य हो । जसले अरु कुराहरुलाई निर्देशित गर्दछ । तमू समुदायमा भौगोलिक अवस्था अनुसार तमू संस्कार, संस्कृति, चाडपर्व र मनोविज्ञानमा विविधता पाइन्छ । तमू प्ये तां, ल्हु तां हरु आजसम्म मौखिक रुपमा रहेको हुँदा कतिपय कुराहरु छरिएर रहेको छ, त्यसैले ती कुराहरुको अनुसन्धान गरी तमू समुदायको मूल्य, मान्यता र वैज्ञानिक आधारमा समय अनुकुल विश्लेषण गरी प्रकाशन गर्नुपर्ने देखिन्छ । यसको लागि सर्वप्रथम तमू समुदायका खेगी (पच्यु, क्ल्हेप्री, लम)हरु, पैँडीहरुले आफ्नो प्ये (शास्त्र)को अध्ययन अनुसन्धान गर्न हृदय देखि नै खुला हुनुपर्दछ, जसमा उहाँ (खेगी)हरुको पनि सहभागिता हुन जरुरी छ । जति प्ये अध्ययन अनुसन्धान गर्न खुला गर्नुहुन्छ प्ये (शास्त्र)मा भएका कुराहरुको त्यति नै गहिराईमा बुझ्न सकिन्छ । यसरी अध्ययन अनुसन्धान गर्दा एउटै विद्यागत रुपमा नभई बहुविद्यागत र बहुआयमिक रुपमा गर्नुपर्ने हुन्छ । यसरी गरेको अध्ययन अनुसन्धान तमू समुदायको स्वीकार्य भए पछि मात्र प्रकाशन गर्नु पर्ने हुन्छ ।

 

२. अध्ययन अनुसन्धानको सरलीकृत लेख प्रकाशन
कुनै पनि प्राज्ञिक कार्य गरिसकेपछि प्राज्ञिक लेख प्राज्ञ व्यक्तिहरुले मात्र बुझेर हुँदैन । त्यो अनुसन्धान आम मानिसले पनि बुझ्न जरुरी हुन्छ । यदि कुनै प्राज्ञ व्यक्तिले गरेको अध्ययन अनुसन्धान सीमित व्यक्तिहरुले मात्र बुझ्ने भयो भने अनुसन्धान प्रभाव खासै हुँदैन । यदि तमू समुदायको भाषा, संस्कृति, मूल्य, मान्यता, संस्कार र सभ्यतामा अध्ययन अनुसन्धान हुन्छ प्राप्त नतिजाहरु आम तमू समुदायले बुझ्ने गरी सरलीकृत रुपमा लेखियो भने बल्ल मात्र तमू समुदायले आफ्नो संस्कार, संस्कृतिमा किन, के का लागि, कसले गर्ने भन्ने कुरा सन्दर्भसहित बुझे भने मात्र तमू समुदायमा त्यो कुरा प्रगाढ भएर बस्छ । तब मात्र आफ्नो संस्कृतिबाट बिमुख हुन सक्दैन ।

 

३. तमू साहित्य सिर्जना
साहित्य भनेको समाजको ऐना हो । साहित्य सिर्जना भनेको नितान्न व्यक्तिगत रुचि पनि हो भने विषयवस्तुको छनौट भने लेखकको वरिवरिको समाजले प्रभाव पारेको हुन्छ । जसरी प्राज्ञिक कार्य गर्ने मानिस प्राज्ञिक लेखबाट प्रभावित भए जस्तै साहित्य पारखीहरु पनि साहित्यबाट नै प्रभावित हुन्छन् र बुझ्ने कोशिस गर्छन् । जब तमू समुदायमा रहेका विविध पक्षहरुको बहुआयमिक दृष्टिकोणबाट अध्ययन, अनुसन्धान हुन्छ तब मात्र त्यसबाट साहित्यकारहरुले संस्कृतिमा भएका विभिन्न पात्र, प्रतीक, कथा, प्रसङ्गहरु प्रयोग गरी कथा, कविता, उपन्यास, गीत, निवन्ध, काव्य, नाटक जस्ता साहित्य सिर्जना गरिदिन्छन् भने चत्रचित्रकर्मीबाट भने त्यसैमा आधारित भएर फिल्म उत्पादन गरिदिएर अभिनय मार्फत प्रस्तुत गर्दछन् ।

 

४. अध्ययन प्रतिष्ठानको स्थापना र सञ्चालन
तमू समुदायका विभिन्न पक्षहरुको धेरै जसो अध्ययन भएको छैन । अझै पनि तमू प्ये (शास्त्र) मौखिक रुपमा नै सिक्दै, सिकाउँदै आएका छन् । त्यसैले सिक्दै, सिकाउँदै आउने क्रमा गुरुलाई जति सम्झना आउने हो त्यति न दिने हो, जुन निरन्तर चलिआएको छ । जसमा चेलाले गुरुबाट लिदा कति लियो भन्नेमा भर पर्छ । अर्को कुरा ठाउँ, भूगोल अनुसार पनि कतिपय प्ये फरक छ । जसले गर्दा ती प्ये (शास्त्र)हरुमा एकरुपता ल्याउन कठीन छ जसले गर्दा कति जनाको कम्प्युटरमा लेखी छाप्ने भन्ने छ । अर्को कुरा तमू समुदायको आफ्नो लिपि नभएको (हाल खेमा लिपि प्रचलनमा आएको छ) हुँदा भाषिक शुद्धताका कारण पनि गाह्रो भइरहेको अवस्था छ । यसको असर कहाँ पर्छ भने प्ये को हस्तानतरण र पुस्तानतरणमा पर्छ । यदि यो कार्य निरन्तर रहयो भने त ठीकै हो, भएन भने अन्तिममा जोसँग हुन्छ, उसैको मृत्युसँगै सकिन्छ । त्यसैले गर्दा तमू प्ये (शास्त्र)हरु जोगाउने हो भने प्येमा एकरुपता गर्ने । नयाँ खेगी (पच्यु, क्ल्हेप्री, पैंडी) उत्पादनको लागि एउटा प्रतिष्ठान बनाउन जरुरी रहेको छ । प्रतिष्ठानबाट विधिवत रुपमा त्यहाँ खेगी विद्या पढ्ने, दिक्षित गर्ने, उपाधि प्रदान गर्ने गरी एउटा शैक्षिक संस्थाको रुपमा विकास गर्ने कार्य गर्नु पर्दछ । यसो गर्दा तमू समुदायमा भएको प्येमा पनि एकरुपता कायम हुँदै जान्छ भने थप तमू भाषाको पनि विकास हुँदै जान्छ ।

 

५. तमू सम्बन्धी अध्ययन र अध्यापन
तमू समुदायको संस्कार, संस्कृति, मूल्य, मान्यता (तमूपना)को संरक्षण र सम्बद्र्धन गर्ने हो भने विद्यालय तहबाट विश्वविद्यालय तहसम्म पठनपाठन, अध्ययन, अध्यापन हुने गरी पाठ्यक्रम निर्माण गर्न जरुरी छ । यो पाठ्यक्रम निर्माण गर्दा सहयोगी हुने सामग्री भनेको नै अध्ययन अनुसन्धानबाट प्राप्त कुराहरु, तमू साहित्यहरु, खेगीका कुराहरु हुन्छन् । विद्यालय तह देखि विश्वविद्यालय तह सम्म अध्यापन हुने हो भने प्रत्येक तमू मात्र नभएर गैरतमूहरुमा पनि तमू सम्बन्धी ज्ञान हुने र तमू समुदायको भाषा लगायत संस्कार, संस्कृतिको संरक्षण र मूल्य, मान्यताहरुको सम्बद्र्धन हुनेछ ।

 

६. खेमा लिपिको प्रवद्र्धन
तमू समुदायमा तमू क्युई (तमू भाषा) भूगोल, ठाउँ अनुसार विविधता मात्र नभएर एउटै खोलाको वारिपारि भएका तमू भाषामा पनि विविधता रहेको पाइन्छ । किनकि पहिलेको समयमा भौगोलिक कठिनाईका कारणले उनीहरु बीच अन्तरक्रिया नभएकोले गर्दा पनि त्यसरी विविधता रहेको पाइन्छ । अर्को पक्ष भनेको तमू क्युई बोलचालको रुपमा सीमित हुनाले र लेख्य रुपमा प्रयोग नहुनाले पनि यसरी तमू क्युईमा विविधता आएको पाइन्छ । जसले गर्दा व्यक्ति अनुसार र भूगोल अनुसार पनि एउटै शब्दको उच्चारण फरक भएकोले पनि कालान्तरमा यस्तो हुन गएको हो । किनकि यो सबै भनेको भाषाको लेख्य प्रयोग नहुनु र लेख्य प्रयोगको लागि लिपि नहुनु हो । कुनै पनि भाषाको लिपि त्यस भाषाको बोलचालसँगै विकास भएको हुँदैन, पछि मात्र विकास गर्नुपर्ने हुन्छ । भाषाको लिपि विकासले गर्दा भाषाको उचित उच्चारण, लेख्य प्रयोगको माध्यमबाट भाषिक शुद्धता कायम रहने, भाषिक शुद्धताबाट त्यस शब्दको अर्थ, शब्दले बोकेको इतिहास, सभ्यता, संस्कृति र शब्द निर्माण समयको सान्दार्भिकता उजागर गर्दछ । त्यस कारण पनि भाषाको लागि लिपि आवश्यक छ । अहिले पनि तमू क्युई बोले शुद्धसाँग लेख्न गाह्रो छ भने लेखिहाले भने शुद्धसँग पढ्न गाह्रो छ, किनकि हामी तमू समुदायले बोल्ने तमू क्युई र हामीले पढ्ने, लेख्ने माध्यम भनेको देवनागरी लिपि भएकोले हो ।

 

तमू समुदायमा पनि पहिल्लो पटक विभिन्न लिपिहरुको विकास भएको पाइन्छ । ती लिपिहरुमध्ये खेमा लिपि अस्तित्वमा रहेको छ, जसको पठनपाठन र प्रवद्र्धन गरिएको छ भने अन्य लिपिहरु छ भन्ने सुनिन्छ तर स्वयं लिपि निर्माणकर्ताहरुबाट कुनै पठनपाठन र प्रवद्र्धन गरेको पाइदैन । तमू समुदायको भाषा, संस्कृति संरक्षण गर्ने र हक, अधिकारको पैरवी गर्ने तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद (तत्कालीन तमू छोंज धीं)ले खेमालिपिलाई तमूहरुको लिपि भनी पारित गरीसकेको छ भने यही लिपिलाई आफ्नो लिपि हो भनेर सिक्किममा बासोबास गर्ने तमूहरुले लगी अहिलेसम्म कक्षा १२ सम्म सिक्किम सरकारले पठनपाठनको व्यवस्था गरेको छ । यता भने विभिन्न कारणले गर्दा देवदह मदर टङ्गस एकेडेमी र तमू संघ संस्थाहरुमा हुने प्रशिक्षण बाहेक अगाडि बढ्न सकेको छैन । अहिले आएर नेपाल सरकारको भाषा आयोगमा खेमा लिपि तमू समुदायको आधिकारीक लिपि हो भनी दर्ता भइसकेको छ । त्यसैले गर्दा अब तमू समुदायको लागि खेमा लिपि बाहेक अन्य विकल्प छैन । त्यसैले खेमा लिपिको संरक्षाण्, प्रवद्र्धन र विकासमा तमू समुदायको भूमिका रहन्छ ।

 

तमू समुदायले खेमा लिपिको संरक्षण, प्रवद्र्धन र विकासमा तत्कालीन अवस्थामा आफ्नो समाजहरुमा प्रशिक्षण गराउने, प्रशिक्षक उत्पादन गर्ने र खेमालिपिलाई तमू समुदायको आधिकारीक लिपिको रुपमा स्वीकार गरी प्रवद्र्धन गर्न सकिन्छ । यसो गरेमा हाम्रो तमू भाषामा विस्तारै एकरुपता हुँदै जान्छ ।

 

यस आलेखमा अहिलेको समयमा तमू समुदायले गर्नैपर्ने कार्यहरु केही बँुदागत रुपमा भएता पनि यस बाहेक अन्य पनि छन् । माथि उल्लेखित कार्यहरुलाई सार्थक बनाउन तमू समुदाय र व्यक्तिहरुले सैद्धान्तिक, नैतिक, भौतिक, आर्थिक, राजनीतिक र क्षमता अनुसार गर्न सक्ने सहयोग र साथ दिएर सार्थक बनाउन सकिन्छ, जसको लागि सम्पूर्ण तमू समुदाय एक हुन जरुरी छ । अन्त्यमा, यस आलेख यस पंक्तिकारको लामो समय तमू संघ, संस्थामा संग्लन भएको, तमू समुदायको अध्ययन अनुसन्धान गर्दाको अनुभव, विभिन्न व्यक्तित्वहरुसँगको भेटघाट र तमू संघसंस्थाले गरेका कार्यहरुको आधारमा तयार गरिएको हो ।

Scroll to Top